काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टाको घरमा पुगेका छन् ।
एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको अत्तरियास्थित निवासमा प्रचण्ड पुगेर भेट गरेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो।
छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ।’
भट्टले समसायिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले भने, प्रचण्डजीले भनेजस्तै यो मेरो घर उहाँको पनि हो। हामीबीच लामो सम्बन्ध छ।
सञ्चारकर्मीहरूले तपाईंलाई प्रचण्डले पुरानै घरमा फर्काउने प्रयास गर्नु भएको होइन ? भन्दै प्रश्न गरेका थिए। भट्टले अहिले माओवादीमा फर्किने संभावना नरहेको भन्दै जबाफ दिएका थिए। भट्ट पूर्वमाओवादी नेता समेत हुन्।