काठमाडौं । एससीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्ध जारी उद्धाटन खेलमा नेपालले पहिलो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा गुलसान झाले नेपाललाई पहिलो विकेट दिलाएका हुन् ।
मलेसियाका ओपनर मुहामद अमिर १७ रन जोड्दै गुलसन झाको बलमा दीपेन्द्र सिंह एरीबाट क्याच आउट भएका हुन् । उनले १८ बलमा ३ चौका प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसिया ताजा अवस्थामा ७ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा २७ रन बनाएको छ । हाल भिरन्दिप सिंह र अहमेद फाइज समान ४-४ रन बनाउँदै क्रिजमा छन् ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाल आजको खेलमा मलेसियामाथि सहज जीत निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ । आईसीसी विश्वकप लिग-२ मा शानदार प्रदर्शन गर्दै पछिल्लो १२ खेलमा ११ खेल जितेको नेपाल यस प्रतियोगितामापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदानमा पछिल्लो ८ खेलमा अपराजीत रहेको छ ।
यता तुलात्मक रुपमा कमजोर रहेको मलेसियापनि घरेलु दर्शकमाझ नेपाललाई स्तब्ध बनाउने लक्ष्यमा रहेको छ । तर मलेसियाको लागि नेपाली दर्शकमाझ खेल्न आफैलाई चुनौतीको विषय रहेको छ । दुई टोलीबीच भएको पछिल्लो पाँच भेटमा मलेसिया सबै खेलमा पराजीत भएको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा हङकङको सामाना गर्नेछ । खेल मुलपानी क्रिकेट मैदानमा ९ बजे शुरु हुनेछ । १० राष्ट्र सहभागी प्रतियोगिताको दुई समूहमा पाँच-पाँच टोली रहेका छन् । समूह ‘ए’मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह ‘बी’मा युएई हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
दुवै टोलीबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेता पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । यस्तै प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने टोली मेन्स इमार्जिंङ टिम्स एसिया कपमा छनोट हुनेछ ।