काठमाडौँ — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली पैसा’ महोत्सव हुँदै छ । यही वैशाख २६ गते वीरेन्द्रनगरस्थित सुर्खेत मोडेल कलेजमा हुन लागेको महोत्सव कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनले आयोजना गरेको हो ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत मोडल कलेजको सहकार्यमा महोत्सव सञ्चालन हुने कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनका निर्देशक आशुतोष तिवारीले बताए ।
उनका अनुसार कर्णालीमा लगानी भित्र्याउने वातावरणको खोजी गर्ने उद्देश्यले एक दिवसीय महोत्सव हुने लागेको हो । महोत्सवमा कर्णालीको आर्थिक र मानवीय पुँजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तर्क्रिया गरिने भएको छ ।