जनकपुरधाम - हालसालै भएको एक घटनाबारे सुन्दा धेरैलाई आश्चर्य र अवास्तविक लाग्न सक्छ तर घटना भने साचाे हो ।
सिराहाको नेपाल-भारत सीमा क्षेत्रमा एक जना साधुको मृत्यु भएपछि जलाउन बालिएको चितामा उनका चेलाले पनि हाम फालेर आत्मदाह गरेका छन् ।धनुषाको सबैला नगरपालिका-९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका हुन्। मलामीहरूको बचाउने प्रयास गरेपनि उनीहरू सफल भएनन ।
सिराहाको बरियारपट्टी गाउँपालिका ३ मा केही दिन अगाडि भएको बिष्णु महायज्ञमा सहभागी १ सय ५ वर्षीय साधु विष्णु दासको सोमबार निधन भयो ।धनुषाकाे सुखीपुर नगरपालिका-२ छजनास्थित हनुमान मन्दिरमा उनकाे निधन भएकाे हाे ।
नेपाल र भारतमा मानव सेवा गरेका कारण साधु दासको दाहसंस्कार सीमावर्ती क्षेत्रमा गर्ने गाउँलेले निर्णय गरे । सोही बमोजिम बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा उनको दाहसंस्कार गरियो ।
साधु दासको दाहसंस्कार भइरहेकै बेला भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले चितामै हामफालेर आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए ।
उनी अचानक चितामा हामफालेपछि सबैले उनको खुट्टा तानेर बचाउने प्रयास गरे । तर उनीहरूकाे प्रयासले काम गर्न सकेन । अन्तत उनी गुरूकै चितामा जले ।
गुरुकै चितामा शिष्यले पनि प्राण त्यागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।