काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् । महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।
आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको उनले बताए । भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी मारमा परेको स्पष्ट पारे । ‘व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन’ अध्यक्ष भट्टराईले भने, ‘यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।’
वैधानिकरुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिन विना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए । महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ । महासङ्घका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफै स्मार्ट बन्नुपर्ने सुझाव दिए ।
व्यवसायीको भेलाले जीवन शाक्यको अध्यक्षमा सात पदाधिकारीसहित २७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । भेलामा कोशी प्रदेशका १४ जिल्लाका व्यावसायी जम्मा भएका थिए । कमिटीको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र सङ्खुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सह कोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका भएका छन् ।
साथै सदस्यमा पुण्य बराल, लोकेन्द्र बुढाथोकी, दीपेश गुप्ता, बजिन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामाङ, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशीषराज यादव निर्वाचित भएका छन् ।