काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतमा बयान सुरु भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परेका छन् ।
फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।