आफ्नो पार्टीका अध्यक्षलाई भ्रष्टाचारी भनिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् ।
आज बैठक शुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो । त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।
उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलका सांसदबाट आएको अभिव्यक्तिप्रति सरकारले जवाफ दिनुपर्ने र ती सांसदले माफी माग्नुपर्ने अडान राखे । निराधार रुपमा आफ्ना अध्यक्षमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती पनि दिए ।
त्यसपछि सभामुख घिमिरेले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरुले टेरेनन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन अवरोध गर्न नहुने भएपनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएकाले आफूहरु बाध्य भएको बताए ।
एमाले सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन्।