काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले माओवादी लगायतसँग एकताका लागि पहल गर्ने भएको छ।
यही जेठ २५ र २६ गते दुई दिन चलेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका नेता विश्वदिप पाण्डेका अनुसार बैठकमा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय भएको छ।
समाजवादी केन्द्र/ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्ने पनि भएको छ।
त्यस्तै असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय भएको पाण्डेले बताए।
बैठकमा अध्यक्ष/सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गर्ने निर्णय भएको पनि पाण्डेले जानकारी दिए।