काठमाडौं । घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।
लाखौं रकम ठगेको आरोपमा एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ थापाथलीबाट पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।
उनका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का २७ वर्षीय रामचन्द्र चालिसे पक्राउ परेका हुन्।
ठगी गरेको पैसाले उनी काठमाडौंका महँगा होटलहरूमा बस्थे।
वास्तविक नाम रामचन्द्र भए पनि उनले आफूलाई अरू नै विभिन्न नामबाट चिनाउँथे। नकुल चालिसे, आकाश भट्टराई र आर.एन क्षेत्री भनेर पनि उनले ग्राहकलाई चिनाउने गरेको अनुसन्धानबाट खुलेको छ।
उनले 'घर जग्गा (लोन सेवा)' नामक फेसबुक पेज पनि चलाएका छन्। २०७९ फागुन ४ गते बनाएको उक्त पेजमा ऋण, घर, जग्गा चाहिएमा सहयोग गर्ने उल्लेख छ।
यसरी सेवा दिन उनले कार्यालय भने खोलेका थिएनन्। कर्मचारी पनि छैनन्। आफैंले चलाउने फेसबुक पेज देखेर कतिपय ग्राहकले त्यसैमा ऋण/घर/जग्गा चाहियो भन्दै मेसेज गर्थे। कसैसँग कुरा भाइहाले पनि उनी ती ग्राहकलाई कुनै क्याफे वा रेस्टुरेन्टमा बोलाएर कुराकानी गर्थे।
'फेसबुकमा एउटा पेज बनाएर घर जग्गाको कारोबार गर्ने, ऋणको व्यवस्था गर्ने भन्ने रहेछ। त्यो देखेर मान्छेले ऋण चाहिएको भन्दै मेसेज गर्छन्,' एसपी रिजालले भने, 'ऋण चाहिएको छ भने एउटा कुनै क्याफेमा आउनुस्, कुराकानी गरौं भन्ने रहेछन्।'
चालिसेले छलफल गर्ने क्रममा ऋणको प्रतिशत र मिलाइदिए बापतको 'सर्भिस चार्ज' लिने गरेको खुलेको हो। कतिपय व्यक्तिहरूका नाममा कम्पनी खोल्ने भनेर नागरिकता दुरूपयोग गरेको पनि पाइएको छ।
त्यसरी कतिपय ग्राहककै नागरिकता लिएर विभिन्न बैंकमा खाता खोलेको पाइएको एसपी रिजालले बताए।
'नागरिकता लिएपछि बैंक खाता खोल्ने, जग्गाहरू धितो राखेर म ऋण मिलाइदिन्छु भनेर विश्वासमा लिएको पायौं,' उनले भने, 'सुरक्षाका लागि चेक लिनुस् भनेर एउटा थमाई पनि दिने रहेछन्।'
चेक दिँदा पनि चालिसेले चलाखी गरेको प्रहरीले बताएको छ।
उनले चेक दिँदा कम्तिमा दुई वर्षपछिको मिति राखेर दिन्थे। यता सेवाशुल्कको नाममा भने तुरून्तै पैसा लिन्थे।
'आफूले चेक दिँदा दुई वर्षपछिको मितिको दिने र ग्राहकबाट लिने बेलामा भने हालसालकै मितिको लिने गर्थे,' उनले भने, 'आममानिसलाई त उनले पनि चेक दिइरहेकै छ भनेर विश्वास हुने भयो।'
उनले चेक, इ-बैंकिङ, मोबाइल बैंकिङमार्फत बीस हजार, तीस हजार, पचास हजार, असी हजार गरी ऋणअनुसारको भन्दै तत्कालै सेवाशुल्क लिने प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। तर उनले कसैलाई ऋण दिने मनसाय राखेको देखिँदैन।
उनले अहिलेसम्म तीन जनाको नागरिकता दुरूपयोग गरी पाँच वटा बैंक खाता खोलेको एसपी रिजालले बताए।
जिल्ला प्रहरी परिसरका अनुसार अहिलेसम्म उनले ५७ लाख २० हजार रूपैयाँ ठगेको आरोप छ। यसरी ठगिएको भन्दै पाँच जना पीडितहरूले संयुक्त जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेर चालिसेलाई पक्राउ गरेको हो।
चालिसे पक्राउ परेपछि अर्का एक जना पीडित पनि सम्पर्कमा आएको एसपी रिजालले जानकारी दिए।
जापानमा बस्ने ती पीडितले काठमाडौंमा घर किन्न खोजे भन्दै चालिसेलाई फेसबुक पेजमा मेसेज गरेका थिए।
'घर किन्ने भनेर पेजमा सम्पर्क गरेर उनी काठमाडौं आइपुगेका थिए। घर किन्न भनेरै चालिसेलाई ५० लाख रूपैयाँको चेक दिएर फर्किएका रहेछन्,' रिजालले भने, 'अहिले उनका आफन्तहरू आएका छन्।'
चालिसेविरूद्ध परिसरले दुइटा कसुरमा अनुसन्धान अघि बढाएको छ — ऋण सेवा दिन्छु भन्दै ठगी गरेको र अर्काको नागरिकता प्रयोग गरी बैंक खाता खोलेर बैंकिङ कसुर गरेको।
एसपी रिजालका अनुसार उनले अरू व्यक्तिलाई पनि ठगी गरेका छन्। उनीबाट ठगिएको भए सम्पर्कमा आउन पनि परिसरले अनुरोध गरेको छ।
चालिसेलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।