म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ ।
सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो ।
चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यू र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ ।
पन्ध्र महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा रु. पाँच लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट एक सय २६ जना सुत्केरी र दुई सय जना गर्भवतीले यो सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताए ।
यसैगरी, धौलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीलाई घरदैलोमै औषधि उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन भएको छ ।