काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरेको छ ।
शनिबार आयोजित १३ औं नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
उपमहानगरले चालु आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ कम बजेट विनियोजन गरेको हो ।
उपप्रमुख बानियाँले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, संघीय सरकारको अनुदानबाट एक अर्ब १४ करोड ५० लाख रुपैयाँबाट ब्यहोरिने जानकारी दिए ।
नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ ।