काठमाडौँ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक करिब २८ घण्टापछि खुलेको छ ।
इच्छाकामना गाउँपालिका- ५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध सडक करिब २८ घण्टापछि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सुरुमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको भएपनि लगातारको वर्षाका कारण थप पहिरो गइरहँदा सडक लामो समयसम्म अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक केहीबेरअघिमात्र दुईतर्फी रूपमा सञ्चालनमा आएको हो । आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएका कारण यतिबेला सञ्चालन संभव भएको हो ।
दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम भएको थियो । तर, सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन ।
ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
२८ घण्टाभन्दा समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका थिए ।
उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।