काठमाडौं । गोरखामा प्रहरीले एक घरबाट ठूलो आकारको टल्कने ढुङ्गा खोजतलास गरेको छ । गोरखा नगरपालिका ७ स्थित सीतपीपलबाट लगभग ५४ किलोग्रामको टल्कने ढुङ्गा बिहीबार खोजतलास गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार उक्त ढुङ्गा ‘साइन स्टोन’ रहेको र सोही बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना मिलेपछि प्रहरीको टोलीले सम्बन्धित घर पुगी उक्त ढुङ्गा खोजतलास गरेर ल्याएको हो । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको भनिएको सो ढुङ्गा खोजतलास गरेर ल्याइएको प्रहरीको पुष्टि छ ।ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन्, ‘एकातिरबाट टर्च बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ, अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।’
खोजतलास गरिएको ढुङ्गाका बारेमा भू(गर्भविद्सँग) भिडियो मार्फत जानकारी लिएको र भू(गर्भविद्ले) खोजतलास गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुन सक्ने बताएको जानकारी दिएको बताइएको छ । खाजतलास गरिएको टल्कने ढुङ्गा चोरी गरिएको नभइ पुर्ख्यौली रूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रहरीले जनाएको छ ।
खोजतालस गरिएको बस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुने उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन् ( ‘पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।’