काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ ।
पीडित महिलाले सामाजिक सञ्जाल ट्वीटरमार्फत इन्स्पेक्टर तिम्सिनाले गरेको म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक गर्दै 'सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत्' भनेकी छन् ।
उनले उक्त म्यासेजको स्किनसट सार्वजनिक गरेलगत्तै जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले छानबिन समिति गठन गरिएको बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।
पीडित युवतीले सार्वजनिक गरेको स्किनसट र उनको भनाइ अनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । 'ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ) उनले भनेका छन् । पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् । ‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् ।
जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।
तिम्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौँ भन्दै प्रश्न गरेका छन् । पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेकी छन् ।
घटना बाहिरिएपछि आरोपी इन्स्पेक्टर तिम्सिनाले सार्वजनिक स्क्रीनसटमा देखिएको आइडी आफूले नचलाएको जिकिर गरेका छन् । उनले आफू वैशाख/जेठतिर तालिममा काठमाडौँ गएको र त्यतिबेलादेखि बन्द आइडी आफूले अहिलेसम्म नचलाएको दाबी गरे ।
यो विषयबारे थाहा पाएपछि सोमबार आफूले छानबिन गरिदिन साइबर ब्यूरोलाई निवेदन दिएको समेत उनले बताए ।