काठमाडौं । चर्चित नेपाली रकगायक एवम् अभिनेता रविन तामाङको निधन भएको छ । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
हाल रविनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
मृत्युको कारण शव परीक्षणपश्चात् मात्र खुल्ने प्रहरीले जनाएको छ ।
रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । सिंगापुरमा जन्मिएका लाहुरे परिवारका रविनको पछिल्लो फिल्म 'छड्के-२' हो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।
सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए ।