काठमाडौँ । माओवादी केन्द्रका प्रदेश सांसद जीवन आचार्य अर्थमन्त्री बनेका छन्। कांग्रेसका उद्धव थापाको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन भएपछि आइतबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तारहुँदा आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय प्राप्त गरे।
आइतबार आचार्यसँगै राजेन्द्र कार्की र रामकुमार खत्री मन्त्री बनेका थिए। थापाले शुक्रवार शपथ लिँदा एकीकृत समाजवादीका कमल जवेगु र कांग्रेसका प्रदीप सुनुवारलाई मन्त्री बनाएका थिए।
अन्य चार जनाको जिम्मेवारी तोकिएको छैन। थापाले पहिल्यै अर्थको जिम्मा आचार्यलाई दिए। उनी यस अगाडि एमालेका हिक्मत कार्कीको नेतृत्वमा रहेको सरकारमा वन तथा पर्यटन मन्त्री थिए।
कोशी प्रदेशमा माओवादीको १३ सांसद रहेका छन्। तर मन्त्री बनाउँदा आचार्य नै प्राथमिकतामा पर्ने गरेका छन्। आचार्य पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्। उनी प्रधानमन्त्रीको स्वकीय सचिव रहेकी गङ्गा दाहालको श्रीमान् हुन्।