काठमाडौं । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएको हो ।
सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरुले बजेट पारित नगर्ने भन्दै सरकारमाथि दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो ।
गठबन्धनका एक नेताका अनुसार बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए । जसमा अरु दलका नेताहरुले सहमति जनाएका हुन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल, प्रमुख सचेतक मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी, खुसीराम चौधरी तथा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावललगायतका सांसद थिए ।
उनीहरु तीनै दल सत्तारुढ घटक हुन् । यसअघि उनीहरुले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय नै गरेका थिए ।