काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबमा प्रतिस्पर्धाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।
इजारायली क्लब हापोएल रानानासँग अनुबन्धित भएकी सावित्रालाई बुधबार खेलकुद मन्त्रालय र राजदूतले एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायत थिए।
इजरायली क्लबमा अनुबन्धित भएकी उनी ब्यबसायिक करिअरमा युरोपबाट प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन्।
सावित्राले यो सिजनका लागि हापोएल रानानासँग गत जेठ अन्तिम साता सम्झौता गरेकी थिइन्। उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। यसअघि सावित्राले भारतीय शीर्ष डिभिजन लिगमा सनसनीपूर्ण प्रदर्शन गरेकी थिइन्।
सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरलालाई लगातार उपाधि दिलाएकी थिइन्। नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्न लागेकी हुन्।