काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताए । गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दरभित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको उल्लेख गरे ।
उनले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने जानकारी दिए । आगामी वर्ष बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने उनको भनाइ थियो ।
उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रमा स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे ।
उनले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्यवृद्धि ७ प्रतिशत रहने अनुमान रहेको बताए । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको उनको भनाइ थियो ।
उनले बैंकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सिआरआरबाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए। उनले राष्ट्र बैंकले बैंकहरुबाट करिब ६० अर्ब लिएको पनि बताए । उनले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताए । उनले राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनि आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने नीति बनाएको पनि जानकारी दिए ।