भक्तपुर । नेवारी कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ भक्तपुरमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विश्वकर्मा सांस्कृतिक खलः र पासा पुचः गुथी युकेको तत्वाधानमा नेवारी कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आपसी सहयोग आदान–प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भक्तपुरको तौलाछें गणेश द्यो छेँमा आयोजित कार्यक्रममा पासा पुचः गुथी युकेका अध्यक्ष सुशील प्रजापतिले नेवारी कला र संस्कृतिका विविध पक्षबारे विदेशमा रहेका नेपालीहरूलाई पनि जानकारी प्रदान गर्दै प्राचीतम् नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पासा पुचः गुथी युके सतत् क्रियाशील रहेको बताए ।
उनले भने, 'नेवारी कला र संस्कृति आफैंमा खुल्ला विश्वविद्यालय भएकाले यस संस्कृतिको बहुआयामिक महत्व विदेशमा रहेका नेपाली तथा उनका नयाँ पुस्तालाई बुझाउन नसकेको खण्डमा आफ्नो मौलिक कला र संस्कृतिको सुन्दरतम पक्षबाट उनीहरू बञ्चित रहन जाने भएकाले हाम्रो संस्थाले युकेमा नेवारी कला र संस्कृतिको उन्नयनमा क्रियाशील रहेको छ ।'
कुनै पनि कला र संस्कृतिको संरक्षण गर्न हातेमालो जरुरी भएकाले भक्तपुरमा आयोजित यस प्रकारको कार्यक्रमले भोलिका दिनमा आपसी सम्बन्ध बिस्तार गर्न मद्दत पुग्ने विचार उनको थियो ।
कार्यक्रममा विश्वकर्मा सांस्कृतिक खलःका अध्यक्ष विष्णु प्रजापतिले अन्तक्र्रिया कार्यक्रमले भक्तपुर र युकेमा नेवारी कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन कसरी व्यापकस्तरमा गर्न सकिन्छ भन्नेतर्फ सबैलाई प्रेरणा दिने बताए ।
उनले नेवार सम्प्रदाय कला र संस्कृतिको धनी भएर पनि विभिन्न कारणले संस्कृतिका विधाहरू लोप हुने अवस्था आउन लागेकाले यसको संरक्षण गर्न नयाँ पुस्तालाई यस्ता जानकारीमूलक कार्यक्रम अति नै उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पासा पुचः युकेका पूर्वमहासचिव एवं सल्लाहकार शिवजी श्रेष्ठ र पूर्वसल्लाहकार मदन श्रेष्ठले पासा पुचः युकेले नेवारी कला, संस्कृतिको प्रवर्द्धन र संरक्षणमा खेलको भूमिकाका सम्बन्धमा चर्चा गर्दै यस्ता सामाजिक कार्यक्रमका माध्यमबाट अन्य गतिविधिका लागि थप हौसला प्रदान गर्ने उल्लेख गरेका थिए ।
उनीहरूले भक्तपुरबाट युकेमा नेवारी कला र संस्कृतिका गतिविधिलाई सक्रिय र जीवन्त पार्न जुन सहयोग उपलब्ध भएको छ यसले दुबै पक्षलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले युकेमा रहेका नेपालीहरूमाझ नेवारी कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पासा पुचः युकेले जुन भूमिका निर्वाह गरेको छ, यसले भावी पुस्तामा नेवारी संस्कृतिको जानकारी प्रदान गर्न महत्वपूर्ण आयाम भएको विचार व्यक्त गरे ।
कार्यक्रममा लन्डन धिमे बाजा खलःको तर्फबाट धिमे बाजा सिक्दै गरेका स–साना नानीहरू टिसा प्रजापति र श्रीषा प्रजापतिले धिमे बाजा बजाएर डेमो प्रदर्शन गरेका थिए भने विश्वकर्मा धाः बाजा खलःका अग्रज गुरु इन्द्र प्रजापतिको नेतृत्वमा विश्वकर्मा बाजा खलःका प्रशिक्षार्थीहरूले बाजा बजाएर कार्यक्रममा शोभा बढाएका थिए ।