मुलुकका सरकारी र सार्वजनिक स्वास्थ्य संस्थाहरु निकै नै अस्तव्यस्त छन् । अस्पतालको व्यवस्थापन पक्षले हेलचेक्य्राइँ गर्दा बिरामी र तिनका कुरुवाले सास्ती खेप्दै आएका छन् । बिरामी भएर उपचारका लागि जाने अस्पताल उल्टै सद्देलाई बिरामी बनाउने थलो बनेको छ । सरसफाइको अभावका कारण अस्पतालहरु दुर्गन्धित छन् ।
बिरामीसँग कुरुवा गएकाहरु अस्पतालको बसाइले आफैं थलिने गरेका छन् । सरकारी र सार्वजनिक अस्पतालहरु बेहाल अवस्थामा छन् । पुराना स्वास्थ्य संस्थाको अवस्था झनै नाजुक छ । भौतिक संरचनादेखि लिएर स्वास्थ्य सामग्रीको अभाव छ । दैनिक सयौं बिरामी आउने अस्पतालहरुमा बेडसमेत पर्याप्त छैन । बिरामीलाई भुँइमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा समेत गम्भीर लापरवाही देखिएको छ । अस्पतालको क्यान्टिनमा पाइने खाना पनि ‘हाइजेनिक’ छैन । यस्तोमा उपचार गर्न पुगेका बिरामीलाई नयाँ रोगले च्याप्ने गम्भीर खतरा छ । ललितपुरको लगनखेलस्थित मानसिक अस्पताल सार्वजनिक स्वास्थ्य संस्थाको दयनीय अवस्थाको अर्को उदाहरण बनेको छ ।
मानसिक रोगीहरु उपचारका लागि आउने अस्पतालको हालत शौचालयबाट प्रष्टै हुन्छ । त्यहाँ छिर्नै महाभारत छ । उपचारका लागि आउने बिरामीहरु दिनभर दिशा पिसाब च्यापेर बस्ने गरेका छन् । मुलुकको एक मात्र केन्द्रीय विशिष्टीकृत मानसिक अस्पतालमा बिरामीको जहिले पनि चाप हुने गरेको छ ।
साइकियाट्रिकतर्फको ओपिडीमा सेवा लिने बिरामीको भीड थेगिनक्नुहुन्छ । जनरल सेवा बिहान साढे ९ बजेदेखि सुचारु हुने गरेको छ । टिकट काट्नका लागि बिरामीहरु बिहानैदेखि लाइन लाग्छन् । विस्तारित सःशुल्क बहिरङ्ग सेवा र विशिष्टकृत सेवा दिउँसो ३ बजेदेखि दिइन्छ ।
बिरामीलाई लिएर अस्पताल आएकी भगवती थापाले अस्पताल प्रशासनले व्यवस्थापनमा निकै लापरवाही गरेको बताइन् । अस्पतालको शौचालयका कारण विभिन्न रोग सल्किने उनको भनाइ छ ।
उनले भनिन्,‘अस्पतालको शौचालय एकदमै दुर्गन्धित छ । सरसफाइको अभावका कारण शौचालय बाहिरसम्मै गन्हाउने गरेको छ । पानीको समेत अभाव छ । जति नै पिसाब च्यापे पनि सहेर बस्छौं । जानै सकिँदैन अनि के गर्ने ? बिरामीलाई सबैभन्दा धेरै समस्या शौचालयले पार्ने गरेको छ ।’ अन्य बिरामीको पनि शौचालयलाई लिएर व्यापक गुनासो थियो । अस्पताल प्रशासनले ध्यान नदिँदा बिरामी र तिनका कुरुवा मर्कामा परेका छन् ।
अस्पतालको सेफ्टी ट्याङ्की फुटेर छताछुल्ल
शौचालय मात्र नभएर सेफ्टी ट्याङ्कीसमेत अव्यवस्थित छ । ट्याङ्की फुटेर अस्पताल प्राङ्गणभरि छताछुल्ल हुँदासमेत प्रशासनको ध्यान केन्द्रित हुन सकेको छैन् । सेफ्टी ट्याङ्कीको दुर्गन्धका कारण अस्पतालको प्राङ्गणमा हिँड्नसमेत अप्ठेरो परेको बिरामीहरु बताउँछन् । त्यहीँबाट गम्भीर रोग फैलिनसक्ने उनीहरुको भनाइ छ ।
पहिलेभन्दा धेरै सुधार भएको छ: अस्पताल
अस्पतालकी सूचना अधिकारी डा. लता गौतमले शौचालयको अवस्थामा पहिलेभन्दा धेरै सुधार आएको बताइन् । सरसफाइकर्मीले नियमित शौचालय सरसफाइ गरिरहेको उनको दाबी छ । बिरामीको चाप धेरै हुने भएकाले शौचालय एकछिनमै फोहोर भइहाल्ने डा.गौतमको तर्क छ ।
‘अस्पतालका शौचालय नियमित रुपमा सरसफाइ गरिएको हुन्छ । शौचालय पहिलेभन्दा धेरै सुधार भएको भन्नुपर्छ । बिरामीले पनि शौचालय प्रयोग गरेपछि पानी हालिदिने गर्नुपर्छ अनि मात्रै सफा हुन्छ । अस्पतालले सक्दो प्रयास गरेको छ । जति बिरामीको चाप छ त्यति अस्पतालसँग सरसफाइ गर्ने जनशक्ति छैन’,उनले भनिन् ।
मुलुककै जेठो अस्पताल वीर अस्पतालबाट मानसिक रोगको पहिचान तथा उपचारका लागि मानसिक अस्पतालको स्थापना गरिएको थियो । पछि लगनखेलमा स्थानान्तरण गरिएको अस्पतालमा ५० शैय्या छन् । दैनिक १५० भन्दा धेरै बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।