काठमाडौं- प्यालेस्टाइनी समूह हमासले शनिबारदेखि इजरायलको दक्षिण क्षेत्रमा गरेको आक्रमणमा केही नेपालीहरु पनि परेका छन्। इजरायलमा प्यालेस्टाइनी समूहले निरन्तर आक्रमण जारी राखेपछि त्यहाँ रहेका नेपालीहरुले आफूहरुलाई घर फर्काइदिनका लागि अपिल गरेका छन्।इजरायलको नेटिभोट नजिकैको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरुले आफूहरु आक्रमण भएको स्थानबाट ३० किलोमिटरको दूरीमा रहेको बताएका छन्। नेपाली विद्यार्थीहरूले भने, 'हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।' ति मध्ये एकले भने आफ्नै केही साथीहरु पनि सम्पर्कमा नभएको र सबै विद्यार्थी साथीहरु त्रसित अवस्थामा भएकोले नेपाल फर्काउनका लागि पहल गरिदिन अपिल गरेका छन्। उनले थपे, 'यहाँ ज्यान जोगाउन निकै गाह्रो छ। हामीहरुलाई जसरी भए पनि अब नेपाल फर्काइ दिनुपर्यो।' उनले 'बेनी अमर फार्म'मा आफूसहित ९ जना रहेको बताए। उनले थपे, 'आफूसँगै आएका साथीहरु आक्रमणमा परेपछि हामीलाई निकै डर लागेको छ।' उनले आफूहरु अहिलेसम्म सकुशल भए पनि तस्बिर र नाम उल्लेख नगरीदिन पनि आग्रह गरेका छन्। उनका अनुसार आफूहरुसँग आएका मध्ये किबुता अलुमिममा १७ जना, सेरासिम फार्ममा ३ जना, रहमिम मुग्राही फार्ममा ४ जना, दयिदैयानमा ११ जना, कन्दुस फार्ममा ४ जना र बेनी अमाम फार्ममा ९ जना नेपाली विद्यार्थीहरु रहेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि त्यहाँ असुरक्षा थप बढेको छ। जसका कारण पनि नेपालीहरु आत्तिएका छन्। प्यालेस्टाइनी समूह हमासले निरन्तर आक्रमण जारी राखेको छ। इजरायलले पनि काउन्टर अट्याक थालेपछि त्रासदीपूर्ण अवस्थामा बस्न नसकिने नेपाली विद्यार्थीले बताए। उनले भने, 'कतै बाहिर निस्किन सक्ने अवस्था छैन। अब एक-दुई दिनमा खानाको पनि समस्या हुने स्थिति छ। यस्तो अवस्थामा यहाँ बस्नुभन्दा नेपाल फर्काइयो भने ज्यान त जोगिन्छ।'
यद्यपि सरकारले त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा भने कुनै निर्णय गरेको छैन। परराष्ट्रमन्त्री साउदले संसद्लाई यसबारे जानकारी दिँदै भने, 'इजरायलमा भएको यस दु:खद् घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको छ। परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।'
परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको जानकारी दिएका छन्। इजरायलमा हाल ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत छन् भने २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत काम गरिरहेका छन्। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए। नेपाली राजदूतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बाँकी १२ जना मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न हुन नसकेको सरकारले जनाएको छ।
इजरायलमा जारी युद्धमा घाइते भएका सुदूरपश्चिमका एक विद्यार्थीका परिवारका सदस्यले उनको पछिल्लो स्वास्थ्य अवस्था र परिस्थितिबारे थप जानकारी प्राप्त हुन नसकेको जानकारी दिए। गैरआवासीय नेपाली संघका अनुसार सेदोट नेगेभ कृषि केन्द्रमा प्रयोगात्मक अध्ययन एवं रोजगारीमा पुगेका नेपालीहरू घाइते भएका हुन्। घाइते भएका नेपालीमध्ये २५ वर्षका गणेशकुमार नेपाली पनि भएको तेल अभिभस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ।
इजरायलमा रहेका नेपालीहरुका लागि सम्पर्क व्यक्ति:
टेलिफोन - +९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल - +९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे- +९७२५८२८९३०००
इमेल- [email protected]