काठमाडौं - सिन्धु विकास बैंकले २६औं शाखा चितवनको खोलेसिमल बजारमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन असोज २९ गते कालिका नगरपालीकाका नगर प्रमुख बिनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले स्वागत मन्तव्य तथा बैंकको बारेमा प्रकाश पारे । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकहरुलाई अझ थप सेवाहरु प्रदान गर्दै लगिने बताए ।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २६ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्यूआर कोड, सीआस्वा, कनेक्ट आईपीएस, आरटीजीएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।