आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सरगर्मीले सिंगो मुलुक तातेको छ। राजनीतिक दल, गठबन्धन र चुनावी तालमेलको लागि सहमति गरेका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई मतदाता आकर्षित गर्न प्रचार प्रसारमा भ्याइनभ्याइ छ।
सिंगो मुलुकसँगै काठमाडौँ क्षेत्र नम्बर १ को चुनावी माहोल पनि तात्तिएको छ। पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतबीच प्रतिस्पर्धा हुने देखिएको छ।
प्रदेश १ बाट प्रतिनिधिसभा सदस्यमा भिड्नको लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। नेता सिंह काठमाडौँ क्षेत्र नम्बर १ मा २०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन्। २०५१, ०६४, ०७० र ०७४ मा उनी यसै क्षेत्रबाट निर्वाचित भएर सांसद बनेका छन्।
सिंह र मिश्र काठमाडौँ १ मा दोस्रो पटक भिड्न लागेका हुन्। यसअघि २०७४ को निर्वाचनमा भएको भिडन्तमा सिंहले मिश्रलाई आठ सय हाराहारी मतले हराएका थिए।
यसपटकको प्रतिस्पर्धामा मिश्रले पार्टी परिवर्तन गरेका छन्। अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट चुनाव लडेका मिश्र यसपटक राप्रपाबाट लड्दै छन्।
काठमाडौँ क्षेत्र नम्बर १ सानो भूगोल तर धेरै मतदाता रहेको स्थान हो। काठमाडौँ महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा क्षेत्र नम्बर १ मा पर्छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा ४५ हजार १८ जना मतादाता छन्। २०७४ सालको निर्वाचनमा भन्दा यसपटक २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस अगाडि रहेको छ। पार्टीगत वडाध्यक्षहरुले पाएको मतमा कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, माओवादी केन्द्रको ११ सय ५९, राप्रपा नेपालको ११ सय ४९ र विवेकशील साझाको २ सय ७३ मत छ।
चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले बढी मत ल्याएको थियो। त्यसमा पनि वडा नम्बर १० मा कांग्रेसले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेले १ हजार ९ सय ५३ मत प्राप्त गरेको थियो।
वडा नम्बर ३१ मा एमालेले ४ हजार ७ सय ६७ मत र कांग्रेसले २९ सय ९१ मत प्राप्त गरेको थिए। कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएकाले स्थानीय तह चुनावमा प्राप्त मतलाई जोड्दा ११ हजार ५४ हुन्छ। नेता सिंह यहि क्षेत्रबाट २०७४ सालमा १० हजार ९ सय ३६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सिंह पूर्वउपप्रधानमन्त्री हुन्। सिंहले काठमाडौँमा राम्रो पकड बनाएका छन्। अघिल्लो चुनावमा सिंहका निकटतम प्रतिस्पर्धी रवीन्द्र मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन्। त्यतिबेला विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत ल्याएका थिए।
अहिले मिश्र राप्रपाबाट चुनावी प्रतिस्पर्धामा छन्। मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, रोजगारी प्रवर्द्धन, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, पूर्वाधार निर्माण,सन्तुलित विदेश नीति, वैज्ञानिक भू–उपयोग, वातावरण संरक्षण तथा जलवायुका एजेन्डाहरुमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा एमालेले काठमाडौँ क्षेत्र नम्बर १ मा किरण पौडेललाई कांग्रेस नेता सिंहविरुद्ध मैदानमा उतारेको छ। युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन्। उनले नागरिकमाझ समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन्।
युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन्। उनी रवि लामिछानेको नेतृत्वमा रहेको दल राष्ट्रिय स्वतन्त्रबाट उमेदवार बनेका छन्। पुकारले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनन गर्ने दाबी गरेका छन्।
उनले सक्षम, अनुभवी पुस्ता संसदभित्र पुग्नुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन्। उनले पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेका युवाहरुको मत काट्ने अनुमान छ।
क्षेत्र नम्बर एकमा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार बनेका छन्। उनी नेपाल सुशासन पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय बनेका हुन्।
प्रहरी सेवाबाट राजिनामा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको दाबी गरेका छन्।
क्षेत्र नम्बर एक बाटै नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाहु, जनमत पार्टीबाट हरेन्द्र चौधरीलगायतले उम्मेदवारी दिएका छन्।
स्वतन्त्रबाट मिरा विष्ट, देव शर्मा, निर्जल शाह, संगीता बोगटी, सुनिता बसेल, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङ उम्मेदवार छन्।
२०७४ को आम निर्वाचनमा काठमाडौँमा १ बाट उम्मेदवारी दिएका २२ जनामध्ये ३ जनाबाहेक सबैको जमानत जफत भएको थियो। उनीहरुले एक प्रतिशत मत पनि प्राप्त गर्न सकेका थिएनन्। यसपटक उम्मेदवारी दिएका ३२ जना मध्ये कतिले जमानत जोगाउन सक्छन्, त्यो निर्वाचनको नतिजाले देखाउने छ।
निर्वाचनमा भएको मतदानमा खसेको कूल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। क्षेत्र नम्बर एकमा गत स्थानीय तहको निर्वाचनको नजितालाई हेर्ने हो भने सत्ता गठबन्धनको समर्थनमा कांग्रेस नेता सिंहको जित्ने संभावना देखिन्छ। तर नेता सिंहले गरेको पार्टी राजनीति र स्थानीय तहमा देखाएको गतिविधिप्रति असन्तुष्टी जनाउनेहरु छन्।
कांग्रेसको १४ औँ महाधिवेशनमा सिंहले सभापतिमा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई समर्थन गरेको धेरैले रुचाएका छैनन्।
सिंहको मुख्य प्रतिस्पर्धी एमालेका पौडेललाई ठानिए पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, सुशासन पार्टीका खरेललाई युवाहरुको मत जाने भएकाले कुन पार्टीको भोट काटिन्छ त्यो ढुक्क भएर भन्न सक्ने अवस्था छैन।
झापा, बाँके र रुपन्देहीमा चुनावी तालमेल गरेका एमाले र राप्रपाले काठमाडौँमा भने छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्। राप्रपाका उम्मेदवार मिश्रको पनि अघिल्लो निर्वाचनमा जस्तो लोकप्रियता छैन। उनलाई अस्थिर चरित्रका उम्मेद्वारका रुपमा चित्रण गरिएको छ।
अन्य क्षेत्रका स्थानीयले जस्तै काठमाडौँ क्षेत्र नम्बर एकका नागरिकले पनि नेताहरुबाट विकास,निर्माण र शान्ति र अमन चयनको आश गरेका छन्। वडा नम्बर ११ बबरमहलका सुनिल डंगोलले सडक, ढल, फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन्।
२९ नम्बर वडाकी सरस्वती महर्जनले महिला सशक्तीकरणमा जोड दिनुपर्ने माग राखेकी छन्। उनले भनिन्, ‘हाम्रो वडा विकासले अगाडि नै छ, सुविधासम्पन्न पनि छ, जुन नेताले जिते पनि महिला सशक्तीकरणमा जोड दिनुपर्छ। योसँगै खानेपानी, ढल र फोहार मैला व्यवस्थापनमा प्रतिवद्ध भएर काम गर्नुपर्छ।’