नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने दाबी गरेका छन् ।
डोटीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको टिप्पणी गरे ।
ओलीले भने, ‘गठबन्धनले देश चल्दैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को अलग अलग घोषणापत्र छ । कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचीत राष्ट्रपति हुनुपर्छ । चुनाव पछि के गर्लान भन्नुस् त ।’
उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको पनि दाबी गरे । ‘एमाले देश बनाउने पार्टी हो । एमालेले नै हो देशको समस्या समाधान गर्ने पार्टी हो । अब अलमलिनु हुँदैन । राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ । यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ,’ ओलीले भने ।
अध्यक्ष ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको आरोप लगाए । ओलीले भने, ‘अस्ती भाषा सुन्नु भएन तपाइहरूको मन्त्रीको । डोटीको बेइज्जत गरेको । त्यस्ता मान्छेहरूलाई भोट दिन कांग्रेस, माओवादी केन्द्रका साथीहरू तयार छन् ।’