नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू आसन्न निर्वाचनबाट विजयी भए संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।
काठमाडौं–४ बाट पुनः प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका थापाले शनिबार आयोजित बुद्धिजीवीहरूको भेलामा मभने, ‘आसन्न निर्वाचनपछि म प्रधानमन्त्रीका लागि पार्टीको संसदीय दलबाटै प्रयास गर्छु ।’
‘प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्छु भनेपछि धेरैले मलाई जोखिम हुन्छ, किन बोलेको पनि भने, मैले यो लहडमा बोलेको होइन, एटेम्ट गर्ने हो’, उनले भने, ‘जोखिम नमोल्ने भए सायद म राजनीतिमा रहन्नथेँ होला । जोखिम मोल्ने हो, प्रधानमन्त्रीमा एटेम्ट पनि गर्ने हो ।’
दलहरूभित्र संसदीय दलको चुनाव हुने अवस्था नदेखिएको उनको भनाइ छ । ‘यो चुनावबाट जनताले परिवर्तनको अपेक्षा गरेका छन् । तर, जुनसुकै दलको बहुमत आए पनि संसदीय दलको चुनावसम्म पनि हुने अवस्था छैन । मैले हारेँ भने मेरो दल नेपाली कांग्रेसमा पनि संसदीय दलको चुनाव हुँदैन’, उनले भने, ‘मैले मात्र जितेर हुँदैन, मलाई प्रस्ताव गर्न झापा–१ मा चुनाव जित्न आवश्यक छ । मेरो समर्थक बस्न काठमाडौ–५ मा चुनाव जित्न आवश्यक छ ।’
महामन्त्री थापाले जनतामा राजनीतिक दल र नेतृत्वप्रति व्यापक असन्तुष्टि रहेको पनि उल्लेख गरे । ‘सरकार त हामी एक–डेढ वर्ष चलाइरहेकै छौँ । चुनावपछि पनि सरकार बनाउने मात्र लक्ष्य लिने हो भने त्यो असन्तुष्टि ५÷६ महिना थेग्न पनि मुस्किल हुनेछ’ उनले भने, ‘त्यसैले सरकार कसरी चलाउने, साझा कार्यक्रम के हुने भन्नेबारे पारदर्शी बहस र सहमति हुन आवश्यक छ । तर, त्यो भइरहेको छैन ।’ उनले जनताको तहबाट अब विवेक प्रयोग गर्ने समय आएको बताए ।