नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि लोकतन्त्रमाथि कैँची चलाउन सक्ने टिप्पणी गरेका छन् ।
कालिकोटमा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले देउवालाई प्रतिगामीको संज्ञा दिए ।
‘देउवालाई हेरेर मलाई अहिले पनि असोज १८ र माघ १९ गते सम्झनामा आउँछ । देउवाले अहिले पनि मौका पाए भने लोकतन्त्रलाई लगेर कतै बुझाइदिन्छन्’, उनले भने, ‘उहाँहरुले धेरै भ्रम फिँजाउन थालेपछि म बोल्न बाध्य भएँ । मैले ताजा जनादेशमा जाने निर्णय लिनु प्रतिगमन भन्नेहरुको विगत हेर्नुस्, मौका पर्दा लोकतन्त्रलाई कहाँ लगेर बुझाएका थिए ।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै आफ्नो घरमा आगो लगाएको टिप्पणी गरे । ‘प्रचण्डले २०७४ मा जारी गरेको संयुक्त घोषणापत्रको प्रतिवद्धता च्यातेपछि कुरो बिग्रिएको हो’, उनले भने, ‘प्रचण्डले आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बस्न गए । अहिले देउवा र प्रचण्ड प्रतिनिधिसभा बचायौँ भन्छन्, तर उनीहरुको विगत हेर्नुस् त एक पटक ।’
ओलीले मंसिर ४ सत्ता गठबन्धनलाई फ्याँक्ने अवसर भएको बताए । ‘चिट चोरेर खानाका लागि यो गठबन्धन बनेको हो’, उनले भने, ‘मंसिर ४ गठबन्धनलाई फ्याँक्ने एउटा अवसरका रुपमा आएको छ । एमालेले देश बनाउँछ भन्ने व्यवहारमा देखाएको छ । त्यसैले एमालेले यो चुनावमा बहुमत ल्याउनुपर्छ ।’
‘एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर घरमा पैसा पु¥याउने काम थालेपछि अरु आत्तिए, विरोधीहरु आत्तिए । महिनाको सय रुपैयाँबाट थालेको वृद्ध भत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ’, उनले भने, ‘सडकमा अलपत्र मानिसका लागि एमालेले काम गरेको छ । बालबालिकाको उद्धार थाल्यो । पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो । भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरु आत्तिए ।’
उनले कम्युनिष्टको सरकार आयो भने अधिकार खोसेर लान्छ भन्ने भ्रमलाई एमालेले जनताका लागि काम गरेर चिरिदएको बताए ।