मंगलबार साँझ सामाजिक सञ्चालनमा एउटा तस्बिर भाइरल भयो । उक्त तस्बिरमा एक जना पुरुषले प्लास्टिकको थैलोमा केही वस्तु लिएर कतै हिँडिरहेको देखिन्छ । ती व्यक्ति हुन्, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा भन्ने गाउँका ३८ वर्षीय अम्मरबहादुर आले । उनले प्लास्टिकमा आफ्नै श्रीमती ३० वर्षीया मिना आलेमगरको घाँटी काटेर हालेका रहेछन् ।
प्रहरीका अनुसार अम्मरले हँसियाले घरको दोस्रो तल्लाको कोठामा पत्नीको हत्या गरेर टाउको प्लास्टिकमा राखेर जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीका अनुसार प्लास्टिकमा टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
कार्की भन्छन्, ‘अभियुक्तले प्रहरी चौकी जाँदै थिएँ भन्छन्, तर प्रहरीले बाटोबाट नै पक्राउ गरेको हो । राति २ बजेतिर नै उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको छ ।’ मिनाको शव भने पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालगाउँमा राखिएको छ ।