काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू घोषणा गरेको छ । बुधबार २८ औं महानगर दिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराएको हो ।
महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न खाना मेला हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नवीन मानन्धरले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य र व्यवहारिक शिक्षा, मूर्त, अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए ।
उनले महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय,साझेदारी र सहकार्य भइरहेको पनि बताए । उनले सहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताए । उनले महानगरमा राजश्व तिर्न, भवन नक्सा स्वीकृत गर्ने लगायतका कार्यका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताए ।
प्रवक्ता मानन्धरले महानगरका धेरैजसो काम अनलाइन प्रणालीबाट भइरहेको पनि बताए । उनले सहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम भइरहेको समेत बताए ।
त्यस्तै, प्रवक्ता मानन्धरले महानगर दिवसको अवसरमा खुला क्षेत्रको सरसफाई, महसुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू गर्ने बताए । महानगरले ७ जना जनप्रतिनिधि ५ जना कर्मचारीहरूलाई सेवा भावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मान गर्ने भएको छ ।
त्यस्तै ५० हजार नगदसहित उत्कृष्ट महानगर सेवा पुरस्कार, महानगर सेवा पुरस्कार, जनकमान श्रेष्ठ सुशासन पुरस्कार र ५ जना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कारसहितको सम्मान कार्यक्रम रहने महानगरले जनाएको छ ।