नेपाल बार एसोसिएसनले संसद सचिवालयका कर्मचारीले सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएपछि बारले संसदको क्षेत्राधिकारमाथि सचिवालयका कर्मचारीबाट हस्तक्षेप भएको ठहर गरेको हो ।
‘महाभियोग सिफारिस समितिले आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरी आउँदो सार्वभौम संसदमा निर्णयार्थ पेश गर्ने गरी गरेको निर्णयलाई चुनौती दिँदै अविछिन्न उत्तराधिकारवाला सार्वभौम संसदको मूल्य–मान्यता विपरीत आफ्नो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निलम्बनको पत्रलाई निष्प्रभावी भएको निष्कर्ष निकाल्दै पत्राचार भएको विषयमा यस एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ’, बारको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उक्त कार्यबाट नेपालको संविधान, ऐन, कानून तथा संसदीय मूल्य–मान्यताको उल्लंघन भएको पनि बारले ठहर गरेको छ । ‘अतः त्यस्तो शून्यप्रभावि पत्र कार्यान्वयन नगर्न नेपाल बार एशोसिएशन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछ । साथै संविधान, कानून विपरित काम गर्ने त्यस्ता कर्मचारीलाई तत्काल कारवाही गर्न नेपाल बार एशोसिएशन माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
बारले विगतमा १०९ दिनसम्म न्यायपालिकाको समग्र सुधार, शुद्धीकरण र सुदृढीकरणका लागि जबराको राजीनामा समेतको माग राखी निरन्तर आन्दोलन गरेको पनि स्मरण गराइएको छ । सोही आन्दोलनको उपज जबराका विरुद्धमा नेमहाभियोगको प्रस्ताव संसदमा पेश भई प्रक्रिया समेत अगाडि बढेको विज्ञप्तिमा उल्लेख छ ।