नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद शशांक कोइरालाले संसदीय दलमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने सङ्केत देखाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवालाई भेटेर कोइरालाले संसदीय दलमा सहयोग गर्ने सङ्केत दिएका हुन् ।
‘गगनजीलाई गाह्रो देखिन्छ । शेखर कोइराला मेरो दाइ भए पनि अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुरजी नै हो,’ उनी भन्छन् । संसदीय दलको नेताको तयारीमा जुटेका देउवाले सहयोग मागेपछि आफूले सधैँ सहयोग गर्दै आएको कोइरालाले जवाफ दिएका थिए ।
पार्टीको १४ औँ महाधिवेशनमा मौन समर्थन जनाएका कोइराला संसदीय दलमा खुलेर समर्थन गर्ने देखिन्छ । गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको बुझाइ छ ।
यस्तै कोइरालाले यसपटक आफू मन्त्री हुनुपर्छ भनेर देउवालाई भनेको पनि सुनाए । देउवालाई भेटेपछि उनले भने, ‘मैले शेरबहादुरजीलाई यस पटक म मन्त्री हुनुपर्छ भनेको छु । यसमा उहाँ सकारात्मक हुनुहुन्छ ।’
२०६४ देखि लगातार चार पटक प्रत्यक्ष चुनाव जितेका कोइराला अहिलेसम्म मन्त्री भएका छैनन् । ‘विगतमा पनि शेरबहादुरजीले मन्त्री हुनुहुन्छ भनेर सोध्नु भएको थियो,’ उनी भन्छन्, ‘साथीहरूलाई अवसर दिनुस् भने । म मन्त्री भइनँ । यसपटक म आफै मन्त्री हुन्छ' भनेको छु ।’ कोइरालाले आफूलाई कृषि मन्त्री भएर काम गर्ने इच्छा भएको बताए ।